नेपालमा दैनिक कोरोना संक्रमण ८ सय भन्दा कम

काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना भाइरसको संक्रमणको दर तिब्र गतिमा घटिरहेको छ । त्यसो त परीक्षणको दायरा समेत सोही अनुपातमा खुम्चिएको छ । अहिले नेपालमा अत्यावश्यक पर्ने बिरामी, शंका लागेर आफैले गर्नुपर्ने परीक्षण र विदेश जाने यात्रुको मात्र परीक्षण भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो संख्या ६५८८ जनामा गरिएको परीक्षणबाट आएको छ । तर, परीक्षणको तुलनामा संक्रमणदर समेत उल्लेख्य घटेका कारण यसले सकारात्मक संकेत भने गरेको छ ।

अब नेपालमा संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोना जित्नेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ। आज संक्रमणपछि ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ।