काठमाडौं । नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएको छ । आगामी पुस १७ गते राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा नेताहरुले यस्तो जानकारी दिएका हुन् ।
राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको उल्लेख गरे । उनका अनुसार राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा प्रदर्शन गरिसकेको छ ।
पुस १७ गते काठमाडौं उपत्यकामा पनि प्रदर्शन गर्न लारिएको उनको भनाई छ । सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको, महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएको आरोप समेत राप्रपाको रहेको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको उल्लेख गरे । राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहनेमा बहस सुरु हुनु सुखद रहेको भन्दै उनले देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।