जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु

विराटनगर । नेपालको तराईदेखि हिमालसम्म चिसो अत्यधिक बढेको छ । यसले जनजीवन प्रभावित बनाइरहेको छ । चिसो भगाउन घरमा बालेको घुरको आगोले घर नै जलेपछि विराटनगरमा एक किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगो घरमा सल्किएको थियो ।

विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको जलेर मृत्यु भएको छ । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार भने घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते आमा–छोराको कोशी अस्पताल विराटनगरमा उपचार जारी छ । आगलागीको समयमा राजेशकुमार घरमा नभएको पाइएको छ । घुर ननिभाई सुतेका कारण त्यसले घरमा आलो सल्किएको अनुमान प्रहरीले गरेको छ ।