नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै आएको राजनीतिक तरंगको प्रभाव सेयर बजारमा देखिएको हो ।

राजनीतिक अस्थिरता छाउने संकेत देखिएसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारमा ९७ अंकको पहिरो गएको हो । नेप्से इतिहासमै यो दोस्रो ठूलो गिरावट हो ।यसअघि मंसिर २१ गते इतिहासमै धेरै एकै दिन १२३ अंकले घटेको थियो ।

सेयर बजार मापक सूचक नेप्से ९६.८८ अंकले घटेर १९३५.६३ बिन्दुमा आइपुगेको छ । यसदिन १९८ कम्पनीको ९ अर्ब ५२ लाख ५८ हजार ९३ रुपैयाँ बराबरको १ करोड ३३ लाख ३९ हजार ५७३ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६६९.६१ अंकले घटेको छ ।

कारोबारमा आएका १९८ कम्पनीमध्ये जम्मा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा शिखर नेपाल लाइफ इन्स्योरेन्स परेको छ । भाउ घटेको बेला सस्तोमा सेयर किन्ने हाबी हुँदा यस कम्पनीको मात्र १ अर्ब बढीको कारोबार भएको छ । नेपाल लाइफ एकैदिन १ अर्ब बढीको सेयर कारोबार हुने दोस्रो कम्पनी बनेको छ । यसअघि पुनर्बीमा कम्पनीको एकैदिन १ अर्ब बढीको कारोबार भएको थियो ।

घट्दो बजारमा आज युनाइटेड इदी मार्दी कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आजबाटै कारोबारमा आएको यस कम्प्नीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

भीषण पहिरो गएको बजारमा आज करिब आधा दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सूर्योदय, नेरुडे, स्वावलम्वन लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी, फरवार्ड लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।