कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

काठमाडौं । नेपाली कांग्रेसले उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आज पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । बैठक ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधी चुनाव घोषणा भएपछि यसको व्यापक विरोध भइरहेको छ ।

तर, स्वयमः कांग्रेस भित्र भने दुई मत देखिएको छ । एक पक्ष निर्वाचनमा भाग लिने तर्कमा छ भने अर्को पक्ष असंवैधानिक कदमको विरोध गर्नुपर्ने पक्षमा छ । सोही सन्दर्भका बीच कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा सत्तारुढ दल नेकपालाई समेत बोलाइएको छ ।

प्रधानमन्त्रीको कदमको नेकपाले समेत प्रतिवाद गरिसकेको छ । यसबाहेक जसपा, राप्रपालगायत दललाई कांग्रेसले आमन्त्रण गरेको हो ।

प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेका हुन् । आइतबार कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भएको छ । छलफलमा प्रधानमन्त्रीको कदम असंवैधानिक र निरंकुश रहेको निष्कर्ष निकालिएको थियो ।