इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने

काठमाडौं । इजरायलले आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । दैनिक ६० हजार नागरिकमा खोप लगाउने लक्ष्यसहित इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट खोप लगाउन शुरु भएको हो । आइतबारबाट शुरु भएको यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप प्राप्त गरेका छन् ।

स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाइने भएको छ । स्वास्थ्यकर्मी भन्दा अगाडी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र स्वास्थ्यमन्त्रीले एकसाथ खोप लगाएर कार्यक्रम थालेका थिए । इजरायलमा फाइजर र बायोटेकले विकास गरेको कोरोना खोप लगाउन थालिएको छ । यो अमेरिकी कम्पनी हो ।

प्रधानमन्त्री नेतन्याहुले सबैलाई खोप लगाउन प्रेरित गर्न आफूले पनि खोप लगाएको प्रतिक्रिया दिएका छन् । इजरायलले फाइजरसँग ८० लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको थियो । इजरायलमा तीन लाख ७३ हजार ६ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेको छ । तीन हजार ८२ जनाको ज्यान गएको छ ।