टिकटिक बनाउन पुलमा झुन्डिदा झरेका युवाको मृत्यु

कोहलपुर । टिकटकका लागि मानिस के सम्म गर्न सक्ला ? हामीले टिकटकका लागि अनेक शाहसिक पोज देख्ने गर्छौं । तर, नेपालमा एक युवाले ज्यानै गुमाएका छन् । टिकटक बनाउन झोलुङ्गे पुलको तारमा झुन्डिदा त्यहाँबाट खसेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ज्यान गएको छ ।

प्रहरीका अनुसार उनको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको हो । गत शनिबार दिउँसो सवा दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ पुरन्धारा झरना नजिकैको बबई नदीको झोलुङ्गे पुलबाट उनी खसेका थिए ।

गम्भीर घाइते भएका उनको उपचार कोहलपुरमा भइरहेको थियो । उनीसँगै युवाहरुको एक टोली गाडी लिएर उनी पुरन्धारा झरनामा पिकनिक गएको थियो । थापा टिकटक बनाउन बबई माथिको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुण्डिएका थिए।

झुन्डिएपछि उनले त्यहाँबाट माथि उक्लन निकै प्रयास गरेका थिए । तर, सकेका थिएनन् । त्यसपछि उनको हात गल्यो । जले गर्दा उनी २० मिटर तल रहेको बगरमा पछारिन पुगेका थिए ।

प्रहरीका अनुसार पिकनिकमा उनले मदिरा सेवन गरेका थिए । पुलबाट खसेपछि गम्भीर घाइते उनलाई साथीहरूले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याएका थिए। त्यहाँबाट उनलाई कोहलपुर रिफर भएको थियो ।