काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आज छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बोलाएका छन् । यसलाई नेकपा फूटको औपचारिक विन्दुका रुपमा हेरिएको छ । किनकी आजको बैठकमा प्रधानमन्त्री ओली पक्षले अध्यक्ष प्रचण्डलाई कारवाहीको निर्णय गर्ने बताएको छ ।
प्रचण्डले नेतृत्व गरेको समूहको स्थायी समिति बैठकले भने यसअघि नै ओलीलाई कारवाही गर्नेै निर्णय गरी निर्वाचन आयोगमा समेत पठाइसकेको छ । यसको औपचारिकताका लागि आज केन्द्रिय कमिति बैठक बोलाइएको हो ।
नेताहरु भने आज बोलाइएको दुई समानान्तर बैठक नेकपा फूटका लागि औपचारिक प्रस्थानविन्दु भएको बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि उनीसँग पार्टी भित्रको ठूलो पंक्ति रुष्ट छ ।
प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल समूह एकातर्फी र ओली एकातर्फ रहेका छन् । दुबै समूहले सोमबार आआफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका थिए । कुल ४४१ सदस्यीय केन्द्रीय समितिमा दुईतिहाई बहुमत रहेको दाबी प्रचण्ड, माधव नेपाल समूहको छ ।
यो समुहले मंगलबार दिउँसो १ बजे कार्की बैंङ्क्वेटमा केन्द्रीय समिति बैठक डाकेको छ । यसै बैठकबाट केपी ओलीलाई अनुशासनको कारवाही गर्नेछ । प्रधानमन्त्रीले असंवैधानिक तरिकाबाट प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्ततः फूटको संघारमा आएको हो ।
माधव नेपाल र प्रचण्ड समूहले केन्द्रीय कमिटीको बैठक राखेकै दिन हतार हतार ओली पक्षले मंगलबार नै बिहान ९ बजे प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक डाकेको छ ।