जनमोर्चा र मसालले सरकारलाई दिएको समर्थन फिर्ता लिए

काठमाडौं । राष्ट्रिय जनमोर्चा र मसालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमोर्चाको सोमबार बसेको पार्टी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका अनुसार पार्टीले सरकारलाई दिएको नैतिक समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कदम चालेका कारण समर्थन फिर्ता दिनु परेको जनाएको छ । विगतमा गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेकाु समेत जनमोर्चाको भनाई छ ।

‘प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल परिस्थिथितिका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीको भनाई छ । उता नेपाल कम्यूनिष्ट पार्टी मसालले समेत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ ।

सोमबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको बताइएको छ । महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गर्दै संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको बताएका छन् । उनले विघटित संसदको पुनर्स्थापना माग गर्ने र त्यसका लागि संघर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको बताएको छ ।

संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले यसबाट देश र जनताको हितमा काम हुन नसक्ने समेत मसालले उल्लेख गरेको छ । तर, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता प्राप्त सीमित अधिकारसमेत बचाउन वर्तमान संसदीय व्यवस्थाको रक्षा गर्नुपर्ने मसालको भनाई छ ।