काठमाडौं । राजनीतिक प्रभावबाट सेयर बजार बाहिर आएको छ । सेयर बजार तीव्र उछाल आएको छ । आइतबार संसद विघटन भएसँगै इतिहासकै दोस्रो धेरै ९७ अंकले घटेको बजारमा त्यस यताका दुई दिनमै १२८ अंकले बढेको छ ।
आज सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम करिब ५ करोडले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से ९५.४६ अंकले बढेर २०६१.४२ बिन्दुमा पुगेको छ । यसदिन २०५ कम्पनीको ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको १ करोड २७ लाख १७ हजार १४६ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक हरियो भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९५०.९५अंकले बढेको छ ।
कारोबारमा आएका २०५ कम्पनीमध्ये जम्मा १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै ८६ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल एनआइसी एशिया बैंक ४६ करोड र प्रभु बैंक ३२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
उच्च अंकले बढेको बजारमा आज १० कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । शिखर इन्स्योरेन्स, नबिल बैंक, साञ्जेन जलविद्युत, नेपाल लाइफ, एनआइसी एशिया बैंक, अपर तामाकोशी, रसुवागढी, समृद्धि फाइनान्स, प्रिमियर इन्स्योरेन्स र एनसीसी बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र युनाइटेड इदी मार्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।