खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।
उनले पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न बहिनीलाई दवाव दिएको खुल्न आएको प्रहरीले जनाएको छ । सकुन्तलाका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलेको राससले लेखेको छ ।
करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी हुन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलालाई काम छ भनी घरबाट जङ्गलमा लगि हत्या गरेको खुलेको हो ।
हत्या भएको अघिल्लो राति दाजु सञ्जीवले फोनमा समेत पटकपटक धम्की दिएको खुलेको छ । घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला परेको श्रीमानले जानकारी गराएका छन् ।
घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको राससले लेखेको छ ।