काठमाडौं । सरकारले संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसमा विवाद चर्कने संकेत देखिएको छ । राजधानीमा जारी केन्द्रिय कमिटिको बैठकको दोस्रो दिन बितिसक्दा पनि कांग्रेसले सरकारको कदमबारे आफ्नो आधिकारिक धारणा बनाउन सकेको छैन । उल्टो बैठकमा शीर्ष नेताहरुबीचमा तिब्र विवाद देखिन थालेको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संसद विघटन असंवैधानिक भएको भन्दै यसको प्रतिवाद गर्नुपर्ने तर्कमा छन् । सभापति शेर बहादुर देउवा भने अझै पनि सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयहरु आउन्जेल नबोल्ने पक्षमा छन् । यसले कांग्रेसमा स्पष्ट दुई खेमा विभाजन गरिदिएको छ ।
सभापतिले सोही अनुसार केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउने मुड बनाएको आरोप पौडेल समूहको रहेको छ । त्यसो त देउवालाई नेकपा विभाजनबाट तत्काल प्राप्त हुने लाभबारे ओलीले फकाइसकेको आशंका गरिएको छ ।
मंगलबारको बैठकमा केन्द्रीय समितिका मात्र चार जना नेतालाई बोल्न दिइएको थियो । आज पनि उत्तिकै नेताले बोले । जसले गर्दा बैठक लम्ब्याउने नियत देखिएको पौडेल पक्षको आरोप छ । आज नेता डा. रामशरण महतले संसद विघटन असंवैधानिक भएको बताएका थिए ।
नेता गगन थापाले कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले केन्द्रिय कमिटिमा अलमल गर्न नहुने तर्क राखे । प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुन नसक्ने भन्दै उनले अदालतलाई पर्खने नभई संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने माग उठाउन माग गरे ।
सडक आन्दोलनकै बलमा सरकारलाई दवाव दिनुपर्ने उनको भनाई छ । आज बोलेका नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगाना समेत संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको पक्षमा उभिए ।
उनीहरु बोलेपछि आफ्नो धारणा राख्दै सभापति देउवाले कांग्रेस सडकमा जान हतार गर्न नहुने भन्दै संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकतामा निर्वाचन आयोगले दिने निर्णय कुर्नपर्ने बताए ।
उनको यो धारणामा भने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । अरुले के भन्छ भन्दा पनि कांग्रेसले स्पष्ट धारणा बनाएर सडकमा जानु पर्ने उनको भनाई छ ।