काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा आफुसँगै चुनाव लड्न चूनौति दिएका छन् । बुधबार नेपालको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिएको तनहुँमा निर्वाचन हार्ने भएकाले भन्दै टिप्पणी गरेका थिए ।
यसको जवाफमा पौडेलले ओलीलाई तनहुँमै चुनावमा आफुसँग भिड्न चूनौति दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको भन्दै कांग्रेस महाधिवेशनबाट सभापति बन्न सुझाव दिएका थिए। कांग्रेसको राजधानीमा जारी केन्द्रिय समिति बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पौडेलले ओलीलाई यस्तो चूनौति दिएका हुन् ।
पछिल्लो समय ओलीले आफुविरुद्ध बोल्ने नेताप्रति लक्षित गलर्दै विष वमन गर्दै आइरहेका छन् । आज समेत उनले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध कटाक्ष गर्दै उनको नेपाली राजनीतिमा कुनै योगदान नै नभएको बताएका थिए ।
यता, पौडेलले भने आफु पाँचपटक चुनाव जितेको मानिस भएको भन्दै भने, ‘अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु ।’
प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद भंग गरेपछि कांग्रेसमा पौडेल समुह आन्दोलन चर्काउनु पर्ने पक्षमा छ । सभापति देउवा समुह भने पर्ख र हेरको रणनीतिमा देखिएको छ ।