काठमाडौं । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको २० औं तलाको निर्माण सम्पन्न भएको छ । यो २० औं तला बार्दली हो । यही तलाबा सर्वसाधारणले अवलोकन गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार २० औं तलामा बारदली बन्ने छ ।
यस स्थानलाई अवलोकन स्थानका रुपमा उपयोग गरिनेछ । धरहरा कुल २३ तलाको हुनेछ । यसअघि भूकम्पले भत्काएको धरहरालाई नचलाई नयाँ धरहरा बनाइएको हो । धरहरा अब अत्याधुनिक टावरका रुपमा विकास भएको छ ।
यसको परिसरभित्रै एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल बनेको छ । यस परिसर भित्रै टक्सार संग्राहलय र भूकम्प संग्राहलय समेत रहने छ । त्यसको काम समेत जारी रहेको छ ।
धरहरा चढ्न अब भर्यांग उक्लन पर्ने छैन । यहाँ जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी डिजाइन गरिएको छ । यो संसारका अन्य मुलुकमा हुने जस्तै टावरको संरचना हो ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष भित्रै धराहराको काम सकाएर हस्तान्तरण गर्ने योजना रहेको छ । धरहरा निर्माणको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ । यो ४२.२ रोपनी क्षेत्रफलमा बनिरहेको छ ।