आलोचनापछि देउवाको विज्ञप्ती : ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चर्को आलोचनाका बीच आफु संसद विघटनको विरुद्धमा रहेको स्पष्टिकरण दिएका छन् । शनिबार एक विज्ञप्ती निकाल्दै उनले आफुले यस कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको स्पष्ट पारेका छन् ।

साथै उनले आगामी सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिने भन्दै त्यसमा सहभागी हुन समेत आह्वान गरेका छन् । उनले भनेका छन्, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु, संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’

यसअघि कांग्रेसको केन्द्रिय समिति बैठकमा उनले सरकारलाई मौन समर्थन गरिरहेको भन्दै चर्को आलोचना भएको थियो । कांग्रेसले संसद विघटनको असंवैधानिक कदमविरूद्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।