ट्रकको ठक्करबाट गुल्मीमा २ जनाको मृत्यु

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी बस्ने २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ट्रक बुटवलबाट खाद्यान्न बोकेर सदरमुकाम तम्घास तर्फ जाँदै थियो । ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारीस्थित मसिने खोलामा आइतबार विहान साढे २ बजेतिर उनीहरुलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।