काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ ।
त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ । अध्यागमन विभागका अनुसार एक सातामा कुल २६३ जना यात्रु बेलायतबाट नेपाल आएको खुलेको छ ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले संक्रमण देखिएका यात्रुहरु राजधानीका विभिन्न होटेलमा क्वारेण्टिन बसेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न सरकारले भनेको थियो ।
यसरी बसेलाई अलग्गै निःशुल्क परीक्षण गरिएको थियो । त्यसक्रममा ५ जनालाई पोजेटिभ आएको हो । उनीहरुमा कुन प्रकारको भाइरस छ भन्नेबारे भने अलग्गै परीक्षण गरिने भएको छ ।