काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली स्वदेश फर्किएको छ ।
चार दिने भ्रमणमा आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डलको टोली बुधबार बिहान हिमालय एयरलाइन्सबाट स्वदेश फर्किएको हो ।
भ्रमणका क्रममा उक्त उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालका शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै आन्तरिक किचलोमा रहँदै आएको नेकपा दुई भागमा विभक्त भयो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी जितपिङको एकता सन्देश लिएर टोली आएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएका बेला त्यसलाई उनीहरुले खण्डन गर्दै नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदान जस्ता विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको स्पष्ट पारेको छ ।