काठमाडौं । आज नेपाली कांग्रेस र पार्टीका भ्रातृ संस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहसहितका नेता ४० वर्ष अगाडी आजकै दिन लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएका थिए । यस दिनको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस मनाउने गरेको छ ।
आज कांग्रेसले ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । खासगरी सरकारको दमकका विरुद्धमा जनचेतना जगाउने गरी कांगेसले कार्यक्रमहरु आयोजना गर्न लागेको बताएको छ ।
नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले आज आयोजना गर्न लागेको ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ सम्बन्धी भर्चुअल कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए ।
त्यसपछि पार्टीहरु प्रतिवन्धमा परे । नेताहरुलाई जेल हालियो । २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायत नेता जेलमुक्त भए र उनीहरु भारतमा निर्वासनमा गए । २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कासहितका नेता आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दा यथावत रहँदै स्वदेश फर्किए । मुलुकमा प्रजातन्त्रको लडाईमा ठूलो योगदान गरेका नेताहरुको यस आँटको सम्झनामा कांग्रेसले मेलमिलाप दिवस घोषणा गरेको थियो ।