कुवेतमा गैरकानूनी रुपमा बस्दै हुनुहुन्छ ? वैधता लिने समय एक महिना थपियो

काठमाडौं । तपाई विदेशमा गैरकानूनी रुपमा बसिरहनु भएको छ भने जरिवाना तिरेर घर फर्कन वा आफुलाई वैधता कायम गर्न समय थप भएको छ । कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकका लागि वैधानिकता कायम गर्ने समय थप भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो अवसर कुवेतमा गैरकानूनी रुपमा बसिरहेका नेपालीले उपयोग गर्न सक्नेछन् । किनकी तोकिएको अवधिमा समेत विदेशी नागरिकले आफुलाई वैध नबनाए कडा सजायको भागिदार हुनुपर्छ । कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना नै तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरेको हो ।

यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३१ सम्म यस्तो समय तोकिएको थियो । कुवेत सरकारले थप एक महिना यो अवसर दिएको हो । कुवेतको आन्तरिक मामिला मन्त्रालयको २८ डिसेम्बरको नयाँ निर्णयअनुसार जनवरी १ देखि शुरू हुने गरी एक महिना थप गरिएको जानकारी गराएको छ ।

तोकिएको अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गर्न सकिने गरी चेतावनी समेत दिइएको छ ।