काठमाडौं । राष्ट्रिय सभाको हिँउदे अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरेको नयाँ परिस्थितिमा बस्न लागेको राष्ट्रिय सभाको बैठकमा नयाँ राजनीतिक परिस्थिति नै बहसको विषय हुने नेताहरुले जनाएका छन् । बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि मन्त्रिपरिषद पुनर्गठनबारे सदनलाई जानकारी गराइने भएको छ ।
अधिवेशन नचलेको अवस्थामा बाधा अड्काउ फुकाउबाट भएका चार समिति गठनको आदेश अनुमोदन गर्ने कार्यसूची समेत राखिएको छ । अधिवेशन नचलेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न ७ वटा अध्यादेश समेत आज राष्ट्रिय सभामा पेस गरिने भएको छ ।
संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसन्चालन तथा सुपरिवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेनाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश सरकारले ल्याएको थियो । आज राष्ट्रिय सभामा रहेका शीर्ष नेताले सभालाई सम्बोधन गर्ने भएका छन् ।