काठमाडौं । भारत सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ सरकारले निर्यातमा रोक लगाएको हो ।
सरकारले अक्सफोर्डको खोप उत्पादन सेरम इन्स्टिच्युटलाई अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो । सेरमका कार्यकारी अधिकृत अदार पुनावालाले खोपमा भारतका नागरिकलाई प्राथमिकता दिने निर्णयको सम्मान गर्ने बताएका छन् ।
उनका अनुसार सेरमले खोप तत्काल निजी बजारमा बेच्ने छैन । सेरमले गरिब मुलुकका लागि एक अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरिसकेको छ । भारतले पहिलो चरणमा झण्डै तीस करोड मानिसलाई खोप दिने योजना बनाएको छ ।
भारतको निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने देखिएको छ ।
नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप ल्याउने तयारी गरेको छ । कोभ्याक्सको खोप मार्च या अप्रिल महिनामा मात्रै दिन सकिने सेरमको भनाइ छ । सेरमको खोप ७० दशमलब ४ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।