झिनो अंकले घट्यो नेपाली सेयर बजार, शिखर इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । हिजो करिब ६ अंकले घटेको बजारमा आज पनि न्यून अंकको गिरावट आएको हो । लगातार बजार घटेको आज दोस्रो दिन हो । पछिल्लो दुई दिनमा बजार करिब १० अंकले घटेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । सोमबारको तुलनामा आज कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँले घटेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ३.५४ अंकले घटेर २१६५.४९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँ बराबरको १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक हरियो भएका छन् भने ९ समूहको परिसूचक राताम्मे भएका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७.५१ अंकले बढेको छ भने व्यापार समूह १४६.५७ अंकले घटेको छ ।

कारोबारमा आएका २०६ कम्पनीमध्ये ११० कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता शिखर इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । गत आवको नाफाबाट २९ प्रतिशत लाभांश घोषणा गरेको कम्प्नीको सेयरप्रति लगानीकर्ता आकर्षित भएका हुन् । आज यसको सबैभन्दा धेरै ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

घट्दो बजारमा पनि आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जनउत्थान लघुवित्त, नारायणी विकास बैंक, हिमाल दोलखा, रिडि, जोशी, घलेम्दी र आँखुखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज साल्ट ट्रेडिङका सेयरधनीले सबैभन्दा धेरै ६.१६ प्रतिशत गुमाएका छन् ।