काठमाडौं । आइतबारदेखि ढाकिएको काठमाडौंको आकास आजबाट खुल्न थालेको छ । आज बिहान काठमाडौंमा घाम लागेका छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । काठमाडौंको आकाश अहिले पनि धुम्म छ । तर, दिउँसोपछि भने अधिकांश भूभागमा घाम लाग्नेछ ।
आज बेलुकाबाट भने काठमाडौंको आकाश पुरै खुल्नेछ । यद्दपी काठमाडौंको प्रदुषण भने कायमै रहेका कारण सतकर्ता अपनाउनु पर्ने सुझाव विज्ञहरुको छ । वायु प्रदुषणको असर खतरनाक हुने भन्दै सचेत हुन वातावरण मन्त्रालयले समेत आह्वान गरिसकेको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात समेत हुनेछ । हिउँदमा हावा नचल्ने समस्याका कारण काठमाडौं उपत्यकासहित शहरी इलाकाको आकासमा बढी प्रदुषण थुप्रिएको छ ।
विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण अत्यधिक रहेको छ । विशेषगरी बालबाालिका, वृद्धवृद्धा एवं दम, खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्कन वातावरण विभागले आह्वान गरेको छ । घरबाहिर निस्कनै पर्दा गुणस्तरीय मास्क लगाउँदा उपयुक्त हुन्छ ।