काठमाडौं । सन् २०२० मा नेपालमा पर्यटक आगमनमा ठूलो कमी आएको छ । यस वर्ष सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थिया । तर, आगमन भने मात्र २ लाख ३० हजार ८५ जना रहेको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष त्रिभुवन विमानस्थलबाट १ लाख ८३ हजार १३० र स्थलमार्गबाट ४६ हजार ९५५ पर्यटक नेपाल आएका छन् ।
कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि विश्वव्यापी रुपमा अपनाइएका प्रतिबन्धले गर्दा पर्यटन क्षेत्र बढी प्रभावित बनेको हो । सन् २०१९ मा इतिहासकै सबैभन्दा बढी ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा ११ चैतबाट लकडाउन शुरु भयो । त्यसपछि पर्यटक आगमन रोकिएको हो ।
तथ्यांकअनुसार सन् २०२० मा भारतबाट सर्वाधिक ४० हजार ३ सय ३६ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा रहेको म्यानमारबाट २० हजार ९ सय ११ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा रहेको थाइल्याण्डबाट २० हजार ७ सय ७८ जना पर्यटक आएको पाइएको छ । यो वर्ष चौथो स्थानमा चीन छ । चीनबाट १९ हजार २ सय ५७ जना पर्यटक नेपाल आएका छन् । पाँचौ स्थानमा रहेको अमेरिकाबाट १७ हजार ७ सय ६७ जना पर्यटक आएका छन् ।