कोरोना महामारीका बीच भारतमा बर्डफ्लु आतंक, नेपालमा बढाइयो सतर्कता

काठमाडौं । कोरोना महामारीका बीच भारतमा बर्डफ्लुको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतका चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले लेखेका छन् । भारतमा यो रोगको संक्रमण देखिएपछि सचेतना भने नेपालमा समेत शुरु भएको छ ।

नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न मातहतका क्वरेन्टाइन कार्यालयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशन दिएको छ ।

पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न समेत निर्देशन दिइएको छ । दक्षिणतर्फका सबै नाकामा उच्च सर्तकता अपनाउन, आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधन र जनशक्ति माग गर्न समेत मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको छ । देशमा ठूलो परिमाणमा कुखुरा मरेमा वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । नेपालमा भने अहिलेसम्म बर्ड फ्लू संक्रमणको पुष्टी भने भइसकेको छैन । भारतको मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको छ ।