वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिंटन डीसीस्थित संसद भवनमा गरेको हिंसात्मक प्रदर्शनको विश्वभरबाट व्यापक आलोचना शुरु भएको छ । खासगरी विश्वका नेताहरुले यो कदमले संसारलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न कंग्रेसको बैठक बसिरहेका समयमा ट्रम्पको उत्तेजित भाषणसँगै समर्थक संसद भवनमा पुगेका थिए ।
बैठक बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमै छिरेका थिए । हलभित्र तोडफोड समेत गरेका छन् । यस क्रममा सुरक्षाकर्मीको गोली लागेर एक जनाको निधन भएको छ । ट्रम्पले निर्वाचन परिणाम नमान्ने बताउँदै आएका छन् । यो घटनाबारे प्रतिक्रिया दिँदै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले छिमेकी मुलुक अमेरिकाको प्रजातन्त्रमाथि हमला भएको बताएका छन् । यसबाट आफ्नो मुलुक निकै दुखी र निराश भएको उनको प्रतिक्रिया छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी कंग्रेसको यो दृष्य लज्जास्पद भएको उल्लेख गरेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अमेरिकी परम्पराअनुसार सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै यो घटना लज्जास्पद रहेको बताएका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले प्रजातन्त्रको जीत हुनेमा कुनै शंका नहरेको उल्लेख गरेकी छिन् । निर्वाचित राष्ट्रपति बाइडेनले तनावको अवस्थाबाट अघि बढेर अमेरिकीलाई एकतावद्ध बनाउने प्रतिक्रिया दिएका छन् ।