अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गर्ने सबै समाजिक सन्जाल २४ घन्टाका लागि ब्लक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल (ट्वीटर, इन्स्टाग्राम र फेसबुक) २४ घन्टाका लागि ब्लक भएका छन् ।

ट्रम्पले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा हिंसा भड्काउने गरी पोस्ट गरेको र त्यसपछि अमेरिकी संसदमाथि नै आक्रमण भएको आरोपमा सामाजिक संजालसँग सम्बन्धित निकायले उनले प्रयोग गर्दै आएको फेसबुक, ट्वीटर र इन्सटाग्राम बन्द गरेका हो ।

सोसल मिडिया साइट्सले यसलाई विवादास्पद र नियम विपरित बताएका छन् । यस किसिमको भिडियो पोस्ट गर्दा हिंसात्मक गतिविधि बढ्ने सम्भावना भएको सोसल मिडिया साइट्सको दावी छ ।

ट्वीटरले थप कडाईका साथ राष्ट्रपतिद्वारा निकृष्ट काम गरेको र भविष्यमा यस्तै नियम उल्लंघन गरे सधैका लागि अकाउन्ट बन्द गर्ने चेतावनी दिएको छ ।

‘नतिजा यस्तो किसिमको भयो कि यसले वासिङ्टन डिसीस्थिति जम्मा भएको भिड नियन्त्रण भन्दा बाहिर गयो, हामीले राष्ट्रपति ट्रम्पको सबै किसिमका ट्वीटर अकाउन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेका छौँ,’ टिवटर सेफ्टीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘मानविय तथा समाजमा शान्ति स्थापना कायम राख्न यस्तो नीति अपनाइएको हो, यो एक किसिमको हाम्रो नीति र नियमभित्रै पर्छ ।’

ट्रम्पका समर्थकले बुधबार बिहान क्यापिटोल हिल स्थित सिनेट भवनभित्र प्रवेश गरी हंगामा गरेका थिए । हजारौँ संख्यामा ट्रम्पका समर्थक भवनभित्र प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न प्रयास गरेका थिए ।

तर प्रहरीले उनीहरूलाई रोक्न सकेन । सिनेट भवन भित्र कंग्रेस बैठक चलिरहँदा ट्रम्प समर्थक सिनेट चेम्बरसम्म पुगेका थिए । भवनभित्र कंग्रेसको दुवै सदन चलिरहेको थियो । यसै बैठकले डेमोक्रेटका जो बाइडेनलाई ४६औँ राष्ट्रपतिमा निर्वाचन भएको घोषणा गर्दै थियो ।