काठमाडौं । व्यक्ति अपहरण गरेको अभियोगमा प्रहरीले दुई चिनियाँ नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा उनीहरुका पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उनीहरुले चिनियाँ नागरिक लिई विइपिङ र लि जिओनिङलाई अपहरण गरेको किटानी जाहेरी परेको हो । १९ पुसमा गौशालाको तिलगंगामा रहेको आनन्द होटलबाट दुई जनालाई अपहरण गरेको जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु बुधबार ठमेलबाट पक्राउ परेका हुन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।