वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजय स्वीकार गरेका छन् । अमेरिकी संसदमा बुधबार भएको अप्रिय हमलापछि ट्रम्पप्रति विश्वरभरबाट चर्को आलोचना भइरहेका समयमा उनले हार स्वीकार गरेका हुन् । संसदमा समेत उनलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएको छ ।
उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् । विहीबार ट्वीटरमा एक भिडियो सन्देश राख्दै कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको अवस्थामा आफुले शान्तीपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने उनको घोषणा छ । नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्ने समेत उनले जनाएका छन् ।
आफ्नो ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुने प्रतिवद्धता समेत ट्रम्पले व्यक्त गरेका छन् । उनले वासिङ्टनको हिंसात्मक प्रदर्शनप्रति दुख व्यक्त गर्दै यसबाट आफू आक्रोशित भएको समेत बताएका छन् । अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको उल्लेख गर्दै क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व नगर्ने समेत ट्रम्पले बताएका छन् ।