ओली-रावल बाझाबाझ : को हो भगौडा ?

काठमाडौं । शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिए । त्यसको जवाफमा भीम रावलले ओलीलाई भगौडा भन्दै कटाक्ष गरेका छन् । दुई नेताबीचको रोमाञ्चक बाझाबाझ भने दुई छुट्टाछुट्टै कार्यक्रममा भएको हो । खासगरी प्रधानमन्त्रीको बोली रावलतर्फ नै लक्षित थियो । सुदुरपश्चिममा रावललाई आफ्नो पक्षमा पार्न असफल ओलीले प्रचण्ड समुहका नेता लेखराज भट्टलाई मन्त्री पद दिएर फकाइरहेका छन् ।

काठमाडौंमा शुक्रबार अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले ओलीको भनाईप्रति लक्षित गर्दै उनलाई भगौडा भनेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा समान्तहरुलाई भेट्ने, नेपाल कम्युनिस्ट पार्टीको चनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर एक नै केपी ओली भएको उनको आरोप छ ।

शयन कक्ष नजिकै बालुवाटारको अर्को भवनमा पार्टी स्थायी कमिटीको बैठक राख्दा समेत ओली नआएको तर्फ उनले इंगित गरे । पार्टीले बैठक बोलाएपछि पनि तथ्यहिन आरोपसहित ओली अनुपस्थित हुने गरेको भन्दै उनलाई भगौडा भनेका हुन् । उता ओलीले भने प्रचण्ड-नेपाल समुहका नेता भगौडा भएको भन्दै त्यतातर्फ नलाग्न आग्रह गरेका थिए ।