काठमाडौं । सरकारले प्रधानमन्त्रीमाथि सुरक्षा बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण गरेको छ । सोही अनुसार प्रधानमन्त्रीमाथि सुरक्षा बढाइएको हो । प्रधानमन्त्री पछिल्लो समय बाक्लै गरी सार्वजनिक कार्यक्रम निस्किएका कारण समेत उनीमाथि सुरक्षा बढाउनु परेको हो ।
राष्ट्रपति भने सार्वजनिक कार्यक्रममा निस्कन छाडेकी छिन् । गृह मन्त्रालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा पनि सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाउन थालिएको छ ।
यसअघि प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए । अहिले भने प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट २८ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरी सुरक्षाकर्मी बढाइएको हो ।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि रोक्न समेत सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । ओली जाने कार्यक्रममा कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने चिजहरु समेत प्रहरीले निषेध गर्ने भएको छ ।
असंवैधानिक कदम चालेर त्यसको बचाउमा उत्रिएका ओलीले अहिले आफ्नो कदमबारे जनमत जुटाउन देश दौडाहा थालेका छन् । सरकारले पूर्वमाओवादी खेमाका मन्त्रीहरुमाथि समेत सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षा बढाउने निर्णय गरेको छ ।