वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन मात्र अब १० दिन बाँकि छ । यसबीचमा उनले अनेक हर्कत गरेका छन् । त्यसमाथि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा समेत उठ्ने सम्भावना रहेको भन्दै उनीविरुद्ध दोस्रो महाअभियोग प्रस्ताव ल्याउने तयारी भएको छ ।
तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पको राजिनामा तत्काल नआए ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएको अमेरिकी संचारमाध्यमले लेखेका छन् ।
गत साता आफ्ना समर्थकहरूलाई संसद भवनमा हिंसा फैलाउन उक्साएका ट्रम्पलाई महाअभियोग लगाउन डेमोक्र्याटिकमात्र होइन रिपब्लिकन पार्टीकै नेताहरूबाट समेत माग भएको हो । राष्ट्रपति निर्वाचनको मतपरिणाम प्रमाणीकरण गर्न दुबै सदनको बैठक बसिरहेका बेला अघिल्लो बुधबार ट्रम्प समर्थकले संसद भवनमा हंगामा गरेका थिए ।
यो घटनामा ५ जनाको मृत्यु भएको छ । ट्रम्पविरूद्ध सोमबार संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी भइरहेको बताइएको छ । दुबै सदनबाट महाअभियोग पारित भए ट्रम्प फेरि राष्ट्रपति उम्मेदवार बन्न पाउँदैनन् ।
गत वर्ष पुसमा समेत ट्रम्पविरूद्ध पहिलो महाअभियोग प्रस्ताव आएको थियो । तल्लो सदनबाट पारित भए पनि सिनेटमा रिपब्लिकनको बहुमत भएकाले उनले सफाइ पाए ।