काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमाना ननाघ्न धम्की दिएका छन् । जति ठूलो सेलिब्रेटी भएपनि सिमाना नाघ्दा त्यसको जवाफ समयले माग्ने रिमालको चेतावनी छ । सामाजिक सञ्जाल ट्विटरमा मिश्रले गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले यस्तो चेतावनी दिएका हुन् ।
शनिबार साँझ मिश्रले प्रधानमन्त्रीले पूर्वन्यायमूर्तिहरुलाई धम्क्याएको प्रति आलोचना गर्दै ट्विट गरेका थिए।
उनले भनेका थिए, “कस्तो समय आयो पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो ।”
उनको यो ट्वीटमा जवाफ दिने क्रममा रिमालले लेखेका छन्, “सीमामा बस्नुस् रवीन्द्र जी, तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।”
प्रधानमन्त्रीले शनिबार विचाराधिन मुद्दामा बोलेको भन्दै पूर्वप्रध्यानन्यायाधिशहरुको आलोचना गरेका थिए । तर, प्रधानमन्त्री स्वयम भने आफ्नो कदम सही भन्दै अदालतलाई प्रभाव पार्ने गरि बोलिरहेका छन् । संसद विघटनको मुद्दा अहिले पनि अदालतमा वहसका क्रममा रहेको छ ।