काठमाडौं । सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि थप पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालू आर्थिक वर्षभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान हुनेछन् ।
उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । ५ चोक र त्यहाँका ८ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।
ती बत्ती जडानका लागि १ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । उनले भने, ‘यस वर्षभित्रै यहाँ जडान सकिन्छ, अरु ठाउँमा पनि निरन्तर काम भइरहन्छ ।’
विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । त्यो सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उनले बताए ।
तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।
विभागले अहिलेसम्म उपत्यकामा १४ स्थानमा ट्रापिक बत्ती जडान गरिसकेको छ । ती स्थानमा र उपत्यकामा पालिकाले राखेका बत्ती छन् । विभागले थप अरु ६/७ ठाउँमा बत्ती राख्ने योजना बनाएको छ ।
चक्रपथको कोटेश्वरदेखि कलङ्की खण्डमा ट्राफिक बत्ती जडान गर्नेगरी छलफल भइरहेको छ । बत्ती जडान भएका स्थानमा ट्राफिक प्रहरीलाई सडक व्यवस्थापनमा सजिलो भएको छ । यात्रु र चालकबाट पनि राम्रो प्रतिक्रिया आइरहेको विभागले जनाएको छ ।