नेकपा ओली समुहमा केन्द्रिय सदस्य संख्या १५०१ पुग्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहले दोस्रो पटक विधान संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाएको छ । अब या नेकपामा केन्द्रिय सदस्यको संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।

मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको उल्लेख गरिएको हो । केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको बताइएको छ ।

यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पुर्‍याएको सार्वजनिक भएको थियो । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेका हुन् । यो समुहले पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को भने कार्यकारी अधिकार खोसिदिएको छ ।