काठमाडौं । नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्चमा रहेको विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड–नेपाल आयोग पुगेका हुन् ।
अध्यक्षद्धय प्रचण्ड र नेपालले प्रतिनिधिसभा विघटनको मुद्धा न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल दुबै समूहलाई निर्वाचन आयोगले २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो ।
सरकारले पुस ५ गते संसद विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि नेकपा दुई भागमा विभाजन भएको छ । तर औपचारिक घोषणा भने गरिएको छैन ।
विभाजनपछि ओली समूह र प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टी नै वैधानिक नेकपा भएको र सूर्य चिह्न आफ्नो भएको दाबी गर्दै आइरहेका छन् । यस विषयमा निर्वाचन आयोगले भने अध्ययन गरिरहेको छ ।