झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए । उनको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाई छ । स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो करीव एक घण्टापछि नियन्त्रणमा आएको हो ।