५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न

काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका साढे ८ लाख बढी निजी आवासमध्ये हालसम्म ५ लाखभन्दा बढीको पुनर्निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ निजी घर निर्माण सम्पन्न भएको हो ।

भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा ८ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ७८ हजार ३३ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ७ लाख ९५ हजार ३१४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा ७ लाख ९१ हजार १०१ लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका छन् । जग निर्माण सम्पन्न गरी ६ लाख ८२ हजार ८५७ जनाले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी ६ लाख १५ हजार ८३ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने समय तोकिएको थियो ।

पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ ।तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ ।