नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

काठमाडौं । काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २२८७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२८५ विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि हिजो नेप्सेले इतिहासकै उच्च २२६७ विन्दु पार गरेको थियो ।यस साता नेप्सेले हरेक दिन रेकर्ड तोड्दै आएको छ ।

नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर पौने ३१ खर्ब नाघेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण ३० अर्ब ७९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से १८.८१अंकले बढेर २२८६.५४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २४२.५२ अंकले बढेको छ भने होटल समूह ५.३९ अंकले घटेको छ ।

कारोबारमा आएका २०७ कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता नेपाल टेलिकमको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा पुनर्बीमा कम्पनी २० करोड र अपर तामाकोशी १८ करोडसहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त, नारायणी विकास बैंक, गोर्खा फाइनान्स, गणपति माइक्रोफाइनान्स र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.७१ प्रतिशत गुमाएका छन् ।