२ माघ, नयाँ दिल्ली । नेपाल र भारतका परराष्ट्र मन्त्रीको नेतृत्वमा आज संयुक्त आयोगको छैठौं बैठक संचालन हुँदैछ । बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको हो । गतवर्ष लिपुलेक लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो।
बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् । भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुने भएको छ ।
भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्दैछन् । बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने भएको छ । बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्ने समेत बताइएको छ । भारतले शनिबारबाट आफ्ना नागरिकलाई खोप लगाउँदैछ ।