जनकपुर । अत्यधिक चिसोका कारण यो वर्ष प्रदेश नं २ मा चार जनाको मृत्यु भएको छ । अहिले पनि तराईका धेरैजसो जिल्लामा शितलहर जारी रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको ज्यान गइसकेको छ ।
कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको ज्यान गएको छ ।
प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध समेत गरिरहेका छन् ।
अहिले दक्षिण पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा समेत मौसम प्रतिकुल बनेको हो ।
चिसो बढेपछि प्रदेश नम्बर २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ।