देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अरू नेताको निवास नधाउने देउवा यो पटक भने बोहराटार पुगेर वरिष्ठ नेता पौडेलसँग करिब १ घण्टा कुराकानी गरेका हुन् ।

श्रोतका अनुसार उनीहरुबीच प्रतिनिधि सभा विघटन, निर्वाचन, केन्द्रदेखि प्रदेशसम्म हुन सक्ने सत्तारोहण र पार्टीको १४औं महाधिवेशनबारे छलफल भएको हो ।

देउवाले केहीदिनअघि नेकपाका प्रचण्ड–नेपालसँग भएको भेटबारे समेत बिफिङ गरेका थिए । उनले पौडेलसमक्ष ओलीका कदमविरूद्ध सडकमा संघर्ष गर्ने र उनी हटेपछि सत्तामा सहकार्य गर्ने ‘अफर’ प्रचण्ड–नेपालले दिएको बताएका थिए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केही दिनअघि देउवासँग भेट गरेका थिए ।

प्रचण्ड–नेपालसँगको भेटमा देउवाले नेकपा अहिलेपनि विभाजित नभएको भन्दै आफु संयुक्त आन्दोलनमा जान अस्वीकार गरेका थिए ।

जुनसुकै बेला आत्मआलोचना शब्द राखेर ओली र प्रचण्ड–नेपाल एक हुन सक्ने सम्भावना रहेको भन्दै कानुनी रूपमा विभाजन नभई सहकार्य गर्न नसक्ने देउवाले बताएका थिए ।

श्रोतका अनुसार यीनै घटनाक्रमबारे देउवाले सोमबार वरिष्ठ नेता पौडेललाई जानकारी गराएका हुन् । साथै देउवाले पौडेलसँग पार्टीभित्रको विवाद पुरानै कार्यसमितिबाट जेष्ठता र वरिष्ठताका आधारमा संघीय संरचनामा समायोजन गर्ने कार्यविधि अनुसार नै विवाद हल गरेर जाने समेत बताएका छन् ।

देउवा र पौडेलबीच सोमबार भएको भेटपछि कांग्रेसले आज बस्ने तय गरेको केन्द्रीय समिति बैठक माघ १३ गतेसम्मका लागि पर सारेको छ ।

देउवाले ओलीको कदमलाई असंवैधानिक भन्दै आएपनि प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा ‘मौन’ रहेका छन् । उनले उक्त विषयमासर्वोच्च अदालतमा बहस भइरहेको भन्दै अदालतलाई सडकबाट दबाब दिन नहुने बताउँदै आएका छन् ।