काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनपछि देशमा विशिष्ठ अवस्था सिर्जना भएको बताएका छन् ।
प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेपछि देशमा विशिष्ट परिस्थिति सिर्जना भएको बताएका हुन् ।
त्यस्तै उनले राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । उनले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा ह्वास्स गन्हाएको बताए ।
‘प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेका छन् । त्यो सिफारिसको भाषामा राजाको भाषा ह्वास्सै गन्हाएको छ । संसद विघटन सिफारिस भएको भाषामा राजा महाराजाको दुर्गन्ध आउँछ । निरंकुशतन्त्रतर्फ देशलार्य धकेल्ने काम भएको छ । यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।