आज काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन

काठमाडौं । संसद विघटनको विरुद्धमा नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ । काठमाडौंमा एक लाखभन्दा बढी कार्यकर्ता उतारेर शक्ति प्रदर्शनको तयारी भइरहेको नेताहरुले बताएका छन् । सरकारको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् ।


प्रचण्ड–माधव समूहले शुक्रबार बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्ने कार्यक्रम छ । पौने ११ बजे आ–आफ्नो आर्कमा जम्मा भइसक्न आयोजक कमिटीले नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किने भएको छ । उच्च तहका नेताले जुलुसको नेतृत्व गर्ने भएका छन् ।

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने भएको छ ।

जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । यसअघि केही अराजक नारा लागेपछि त्यसको आलोचना भएको थियो । सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।