आजदेखि गैरआवासीय नेपाली संघको विशेष अधिवेशन शुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन आजबाट शुरु हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेसँगै महाधिवेशन हुन लागेको हो ।

दुईदिनसम्म भर्चुअलरुपमा संचालन हुने विशेष महाधिवेशनमा ५० भन्दा बढी मुलुकबाट २६ सय जना प्रतिनिधि सहभागी हुने भएका छन् । नवौं महाधिवेशनबाट पारित हुन थाँती रहेका आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि विशेष महाधिवेशनमा छलफल हुने संघले जनाएको छ ।

नयाँ विधान अनुसार अब एक थप युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्षमध्ये एकजना महिला अनिवार्य, एक महिलासहित दुईजना सचिव थप्ने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाउने प्रस्ताव गरिएको छ ।

यसैगरी, संघका अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान, राष्ट्रिय महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधि निर्वाचित गर्ने,निर्वाचन प्रक्रियासहितका प्रावधान समेत आउने भएको छ ।