आजबाट सहिद सप्ताह शुरु

काठमाडौं । आजबाट नेपालमा शहीद सप्ताह शुरु भएको छ । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदलाई सम्झना गर्दै शहीद सप्ताह मनाउने गरिन्छ ।

सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा आयोजना हुने भएको छ । १३ गते बिहान आठ बजे सिफलमा धर्मभक्त माथेमा फाँसी दिइएको स्थान र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलीसभा आयोजना गरिने भएको छ ।

काठमाण्डौ महानगरपालिकाका अनुसार अन्तिम दिन माघ १६ मा शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत गरिने भएको छ ।

उक्त दिन लैनचौरमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुने बताइएको छ । २०१२ सालदेखि काठमाडौं नगरको संयोजकत्वमा शहीद सप्ताह मनाउन शुरु गरिएको हो ।


प्रजातन्त्रको लडाईमा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा, माघ १३ मा धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ मा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका हुन् ।