सिन्धुपाल्चोक । गृहजिल्ला सिन्धुपाल्चोक पुगेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई स्थानीयले अवरोध गरेका छन् । उनलाई चार घण्टासम्म स्थानीयले कालो झण्डा देखाउँदै बाटो अवरुद्ध गरी विरोध गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बिस्तार गरेको मन्त्रिपरिषद् बिस्तारमा उनी मन्त्री बनेका थिए । तामाङ कार्यकर्ता भेलालाई सम्बोधन गर्न भन्दै गृहजिल्ला सिन्धुपाल्चोक पुगेका थिए ।
प्रहरीका अनुसार इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रुख ढालेर कालो झण्डा देखाइएको थियो । स्थानीयको अवरोध पछि मन्त्री तामाङ ४ घण्टासम्म मेलम्ची बजारमा रोकिएका थिए।
प्रहरीले स्थानीयले ढालेका रुख पन्छाउने तथा नाराबाजी गरिरहेका स्थानीयलाई लखेटेपछि मात्र मन्त्री कार्यक्रमस्थल पुग्न पाएका हुन् ।
गृह जिल्ला सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पकड रहेको तर उनले प्रधानमन्त्रीलाई साथ दिँदै मन्त्री खान पुगेपछि उनको क्षेत्रमै व्यापक असन्तुष्टी रहेको छ । त्यसो त उनी निर्वाचनमा प्रदेश सांसदमै पराजित अनुहार हुन् ।