काठमाडौं । ताइवानले आफ्नो आकासमा एक दर्जन चिनियाँ लडाकु जहाज छिरेको दावि गरेको छ । ताइवानी रक्षा मन्त्रालयले शनिबार ताइवानको दक्षिण, पश्चिमी आकाशमा ८ वटा बम खसाल्ने जहाज र ४ वटा लडाकु जेट प्रवेश गरेको दावि गरेको छ ।
ताइवानले चिनियाँ जहाजको निगरानीका लागि मिसाइल तयारी अवस्थामा राखेको समेत उल्लेख गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चीनबाट एयर स्पेसमा अतिक्रमण भएपछि आफुहरु समेत चनाखो बनेको ताइवानको भनाई छ । त्यसो त ताइवान चीनको स्वशासित क्षेत्र मानिन्छ ।
त्यसकारण चीनले यहाँ अन्य समयमा समेत लडाकु विमान पठाउने गरेको थियो । तर, एकै पटक दर्जनौं जहाज छिरेपछि भने ताइवान सशंकित बनेको हो । उता, अमेरिकाले समेत एक विज्ञप्ती जारी गर्दै ताइवानमाथि चीनको दबाब रोकिनु पर्ने बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयले ताइवानमाथि सैन्य, कूटनीतिक र आर्थिक दबाब दिन रोकेर प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएका प्रतिनिधिहरूसँग अर्थपूर्ण वार्ता गर्न आह्वान गरेको छ ।
एजेन्सी