नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा

काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले फेरि नयाँ रेकर्डै रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

गत बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

नेप्सेले २४२४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४०० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि गत बिहीबार नेप्सेले इतिहासकै उच्च २३७४ विन्दु पार गरेको थियो ।

यस्तै, नेप्सले आज एकै दिन सर्वाधिक कारोबारको रेकर्ड पनि बनाएको छ । आज ९ अर्ब ३७ करोड बढीको कारोबार हुँदै एकैदिन सर्वाधिक कारोबारको रेकर्ड बनाएको हो । यसअघि मंसिर १४ गते एकैदिन सर्वाधि ९ अर्ब २३ करोडको कारोबार भएको थिए ।

यस्तै, नेप्सेले आज सर्वाधिक बजार पूँजीकरणको रेकर्ड पनि बनाएको छ । नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर साढे ३२ खर्ब नाघेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकर ३२ खर्ब ६६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

आज सेयर बजार मापक सूचक नेप्से ५०.२० अंकले बढेर २४२४.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २२१.६१ अंकले बढेको छ भने व्यापार समूह ७३.३५ अंकले घटेको छ ।

कारोबारमा आएका २०७ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै ६६ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३४ करोड र नेपाल टेलिकम ३१ करोड सहित शीर्ष तीनमा रहे ।

उच्च अंकले बढेको बजारमा करिब १४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, सपोर्ट माइक्रो फाइनान्स, रिडि हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, एचआइडीसीएल र शिव श्री हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

दोहोरो अंकले बढेको बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशत गुमाएका छन् ।